Thursday, September 1, 2011

नारी— सबैभन्दा माथि !


मनोज गजुरेल
गजु-रियल सिद्धान्तअनुसार 'लेडिज' भन्नु र 'नारी' भन्नु फरक कुरा हुन्। 'लेडिज' भन्नाले अध्याधुनिक संस्कृतिको अन्ध नक्कलले अक्कल  गुमाएका 'महिला' मान्नुपर्छ भने 'नारी' भन्नाले पुरुषवादी समाजमा हेपिएका, थिचिएका हाम्रा आमा/दिदीहरूलाई ठान्नुपर्छ। 'लेडिज'हरू ' डिस्को'मा जान्छन् र 'वाइन'मा चैन गर्छन्, 'नारी'हरू दिनभरि बाहिरको काम गर्छन् र घरमा गएर परिवारको ख्याल गर्छन्।मेरी आमा भन्नुहुन्छ— उहाँको जमानाका सासू 'लेडिज'हरू सधैं यस कुरामा 'फस्ट' हुन्थे कि बुहारीले कोरीबाटी गरेको देख्यो कि सातो लिन  पुगिहाल्थे रे ! बुहारी 'लेडिज'हरू पनि के कम, घाँस-दाउरा जाँदा जंगलमै सिन्दूर, टीका लगाएर हैसियतअनुसारको
'मेकअप' गर्थे अनि र्फकने  बेलामा फेरि सबै पुछपाछ गरेर मात्र 'बुहारी'का रूपमा घर आउँथे ! किनभने, घरमा सासू 'लेडिज'ले बुहारी 'लेडिज'को जगल्टा लुछ्ने  सम्भावना प्रबल हुन्थ्यो ! अहिले छोरा/छोरीको जमानामा पनि 'लेडिज'हरू 'सेकेन्ड' भएका छैनन्। अंशका निहुँमा आमाले वंशको नाश गरेको  देखि 'दाइजो'का कारण सासूले बुहारी विनाश गरेका घटनाहरू प्ानि 'लेडिज फस्ट' भएका उदाहरण हुन्। आमा/छोराले बुहारी मार्ने, बुहारीले  छोरालाई धोका दिएर घर 'रित्तो' पार्ने कुरामा पनि 'लेडिज'को अग्रता कायमै छ। यो तथ्यकै आधारमा शतप्रतिशत 'लेडिज'हरू 'फस्ट' र  शतप्रतिशत 'जेन्ट्स'हरू 'लास्ट' हुन् भन्ने कुरासँग सहमत हुन भने पटक्कै सकिँदैन।त्यसो भए किन 'लेडिज फस्ट' भनिएको होला त ! 'मर्दले आँटे'नि वर्ष दिन भन्छन्, आईमाइले आँटे'नी एकैछिन !'- यही गीतका आधारमा ' फस्ट' भनिएको पक्कै होइन। 'फास्टिङ'मा विशेष रुचि भएकाले पनि 'लेडिज फस्ट' भनिएको झन् हुँदै होइन। त्यसो भए 'लेडिज' र 'जेन्ट्स'मा  फस्र्ट/सेकेन्ड छुट्याउने काम किन गरिएको होला ! आउनोस्, त्यसको पनि एउटा 'गजु-रियल' विश्लेषण गरौं।हुनसक्छ, झगडा गर्न र मिलाउन दुवै कुरामा 'जेन्ट्स'भन्दा 'लेडिज'हरू नै अगाडि भएकाले 'लेडिज फस्ट' भनिएको होला ! अथवा आफ्नो  मुख चलाउन वा अरूको मुख बन्द गर्न पनि 'जेन्ट्स'ले नसक्ने भएकाले पनि त्यसो भनिएको हुनसक्छ। अथवा 'लेडिज फास्ट' भन्न खोजेको  होला, 'लेडिज फस्ट' उच्चारण भएको पनि हुनसक्छ, तर 'लेडिज फास्ट' भन्ने कुरामा पनि म अलि 'कन्फ्यूज' छु।किनभने, 'मेकअप'मा उनीहरू 'जेन्ट्स'भन्दा चार कदम ढिला छन्। 'ड्रेसअप'मा पनि उनीहरू 'फास्ट' छैनन्। 'जेन्ट्स' तयार भएर आँगनमा  पुगिसक्दा बल्ल 'लेडिज'को 'ड्रेसअप' सुरु हुन्छ। पाँच मिनेटमा सकिने 'टेलिफोन संवाद'ले आधा घण्टा समय बर्बाद बनाउँछ, आधा घण्टामा  सकिने 'सपिङ'ले आठवटा 'आधा घण्टा' बर्बाद खाइदिन्छ ! अब को 'फास्ट' हो, को 'लास्ट' हो भन्ने कुरा आफैं विश्लेषण गर्नोस्। जसरी 'जेन्ट ्स'हरू धक्कु लगाउने, भक्कु खाने, शासन गर्न खोज्ने कुरामा 'फस्ट' छन्, त्यसैगरी खाना खाने, नाना लाउने, गाना गाउने, स्लिम बनाउने  कुरामा 'लेडिज'हरू अगाडि छन्।यसरी 'लेडिज' र 'जेन्ट्स'मा सहकार्य हुन्छ, 'फस्ट'/'लास्ट'को कुरै छैन। ज्ञात रहोस्— गजु-रियल सिद्धान्तअनुसार 'लेडिज' भन्नु र 'नारी' भन्नु  फरक कुरा हुन्। 'लेडिज' भन्नाले अध्याधुनिक संस्कृतिको अन्ध नक्कलले अक्कल गुमाएका 'महिला' मान्नुपर्छ भने 'नारी' भन्नाले पुरुषवादी  समाजमा हेपिएका, थिचिएका हाम्रा आमा/दिदीहरूलाई ठान्नुपर्छ। 'लेडिज'हरू 'डिस्को'मा जान्छन् र 'वाइन'मा चैन गर्छन्, 'नारी'हरू दिनभरि  बाहिरको काम गर्छन् र घरमा गएर परिवारको ख्याल गर्छन्। कुनै विदेशी लेखकले भनेका छन्- संसारका अधिकांश लडाइँ र युद्धको सुरुवाती  कारण 'लेडिज' नै हुन्छन्। यो स्तम्भकार ती लेखकको विश्लेषणको कदर गर्दै आफ्नो धारणा राख्छ- संसारमा घरको व्यवस्थापन, परिवारको संरक्षण, द्वन्द्वको निराकरण,  प्रेमको प्रस्फुटन, शान्तिको दियो प्रज्वलन एउटी 'नारी'बाट जति सजिलो तरिकाले सम्भव छ, पुरुषबाट त्यति नै अप्ठ्यारो हुन्छ। किनभने,'छोरी-बुहारी-श्रीमती, रूप कति-कति !सबै रूपको बोझ बोक्छ्यौ, सिंगै धर्ती जति,संसारमा नारी नै हुन्, सबैभन्दा माथि।'सबै 'नारी'लाई तीजको मंगलमय शुभकामना।

No comments:

Post a Comment

Comment using Facebook