Saturday, April 30, 2011

यौन हिंसामा प्रविधि

समयसँगै समस्याका प्रकृति फरक हुनथालेका छन्। हिजोका सासु बुहार्तन कटाउँथे भने आज बुहारीलाई उच्च शिक्षा पढाउन घरका काम आफैँ गर्न थालेका छन्। यस्तै समाजमा महिला हिंसाका पनि फरकरूप देखिन थालेका छन्। नयाँ प्रविधिले जीवनलाई सजिलोमात्र बनाएको छैन यसको दुरुपयोगले अकल्पनीय दुर्घटना पनि भएका छन्। नितान्त वैयक्तिक मानिने यौन जीवन पनि प्रविधिको प्रयोग र दुरुपयोगबाट जोगिएको छैन। आधुनिक प्रविधिको प्रयोग यौन तृप्तिभन्दा बढी तृष्णा जगाउन भएको पाइएको छ। 


अधिकांश युवकका हातमा मोबाइल हुन्छ। तिनमा अधिकांश मोबाइलमा 'नीला' भनिने अश्लील चित्र पनि हुन्छ। त्यस्ता चित्र युवतिका मोबाइलमा पनि हुनसक्छ। यस्तो फिल्म हेर्नु ठीक कि बेठीक भन्ने बहस लामो हुनसक्छ। भनिन्छ, नभएको कुराको नाम हुन्न र नचाहिने कुरा बन्दैन । यस्ता फिल्म पनि आवश्यकताकै कारण बने होलान्। बन्यो, विक्री भयो, हेरियो। यतिमै त धेरै चिन्ता गर्नु पनि नपर्ला तर समाजमा त्यसको असर पर्न थालेपछि भने यो सार्वजनिक चासोको विषय बनेको छ। 


यौन जोडीमध्ये एक जनामा कामवासना नजागेर यौन जीवन कष्टकर बन्दै गएको भए यस्ता चित्र उपयोगी पनि हुन सक्लान्। तर त्यसको जथाभावी नक्कल गर्न खोज्ने हो भने त्यसले दुर्घटना निम्त्याउने अवश्यंभावी छ। फिल्ममा वास्तविकताको अतिरञ्जना गरिएको हुन्छ भन्ने बुझ्न नसक्दा र त्यहाँ चित्रण गरिएको विधिलाई जस्ताको तस्तै वास्तविक जीवनमा प्रयोग गर्न खोज्दा भने बिस्तारै हीनताबोध हुन थाल्नसक्छ। यसबाहेक कतिपय पुरुषले यौन सम्पर्कका बेला पत्नीलाई यस्ता फिल्म हेर्न लगाएर त्यहाँ चित्रित विधिहरू प्रयोग गर्न खोज्दा पति पत्नीबीच यौन सम्बन्धमा असमझदारी पनि बढ्नसक्छ। 



मन मिल्दा साथीसँग नवविवाहिताहरूले आफ्ना पतिका 'ब्लुफ्लिम' चर्तिकला र त्यसबाट भोगेको पीडा सुनाउने गर्छन्। बिहेकै रातमा पनि कतिपयले यस्ता घटनाको पीडा सहनु परेको थाहा भएको छ। अझ आजभोलि त युवामा यौनलाई प्रेमको परिपूरकका रूपमा लिने अभ्यास सुरु भएको छ। फलस्वरूप विवाहपूर्व प्रेम सम्बन्ध चलिरहेकै बेला पनि यौन सम्बन्ध राख्नु सामान्य हुँदै गएको छ। विशेषगरी युवकहरूले यस्तै अश्लील फिल्मको नक्कल गर्दै आफ्ना महिला साथी वा प्रेमिकालाई यौन सम्बन्धकालागि दबाब दिने गर्छन्। भनिन्छ, कुनै व्यक्तिसँगको पहिलो यौन सम्पर्कले ऊसँगको जीवन भरको सम्बन्ध निर्धारण गर्छ। पहिलो सम्पर्कमै यस्ता चलचित्रको नक्कल गर्ने चाहना राख्न थालियो भने जीवनभरी ती महिलाको पुरुष साथीलाई हेर्ने दृष्टिकोण कस्तो बन्ला? यस्तो, दबावपूर्ण यौन सम्पर्कले सम्बन्धको आयु पनि घटाउनसक्छ। 



बाहिरबाट हेर्दा साह्रै्र भलाद्मी लाग्ने र सामाजिकरूपमा पनि राम्रै हैसियत भएका पुरुषहरू पनि यस्ता क्रियाकलापमा संलग्न हुन्छन् भन्ने पत्याउन गाह्रो हुन्छ तर पछिल्लो समय सम्बन्ध बिच्छेदका तथ्यांक बढ्नुमा बाहिर देखाउने कारण जे भए पनि मूलतः अधिकांशमा पतिको यौन अत्याचार प्रमुख हुने गरेको मानिएको छ। त्यसमा प्रविधिसँगै आएका सुविधाले बढाएका विकृतिको पनि ठूलो भूमिका छ। समाजमा यौनलाई वर्जनाको विषय बनाइएकाले महिलाले यस विषयमा खुलेर चर्चा गर्न सत्तै्कनन्। यसैले चुपचाप पीडा सहन विवश महिलाहरूको अधिकार रक्षाका लागि क्रियाशील सबैले यस विषयलाई उजागर गर्नु आवशयक छ। एकातिर यस्ता अश्लील फिल्मको बजारलाई नियमनलाई प्रभावकारी बनाउन आवश्यक देखिन्छ भने अर्कातिर यस विषयमा अध्ययनअनुसन्धान गरी त्यसमा आधारित सूचना सम्प्रेषण गर्नु पनि उत्तिकै जरुरी छ।  


SOURCE: NAGARIK DAILY



No comments:

Post a Comment

Comment using Facebook